काठमाडौं । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए ।
‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्यो,’ उनले भने ।गोलभेँडाको मूल्य अत्यधिक बढेपछि अहिले अधिकांश पसलमा नपाइएको उपभोक्ताको गुनासो छ ।
बजारमा गोलभेँडाको सबैभन्दा धेरै बढेको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ थियो । तर, अहिले यो मूल्य बढेर ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीना अवधिमै गोलभेँडाको मूल्य किलोमा करीब चार गुणाले बढेको हो ।
होलसेलमै यति पर्ने गोलभेँडाको भाउ खुद्रामा अझै बढी पर्दा उपभोक्ता मारमा परेका छन् ।नेपालीको भान्सामा नभई नहुने तरकारीमध्येको एक हो गोलभेँडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्ता मर्कामा पर्ने गरेका छन् । सामान्य अवस्थामा काठमाडौं आउने अधिकांश गोलभेँडा अहिले स्थानीय तहको चुनावको माहोलका कारण गाउँघरतिरै खपत भइरहेको छ ।
यसले आपूर्तिमा समेत चाप परेको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भारतबाट गोलभेँडा नआएकाले मूल्य आकाशिएको बताए । स्थानीय चुनावको कारण केही दिन सीमानाका बन्द हुँदा आपूर्ति घटेकाले पनि मूल्य बढेको उनको भनाइ छ ।