बारा । जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाएकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए।दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। उनको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा परी गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको शव वीरगन्ज पठाइएको छ।दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षीय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ। उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै वृद्ध सवार मोटरसाइकलका चालक मोटरसाइकल लिएर फरार भएका छन्। दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो।