काठमाडाैँ । राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण प्रदान गरेकाे छ ।
गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको वखत सल्लाहकार थापाले डायलासिस मेसिन धनकुटा अस्पतालमा ल्याउन पहल गरी सेवा शुरु गर्ने प्रतिवद्धता गरे अनुरुप उनको पहलमा धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण मन्त्रालय र विभागबाट संयुक्त रुपमा उपलब्ध गराएकोमा नेपाली कांग्रेस धनकुटाले धन्यवाद ज्ञापन समेत गरेको छ ।
निर्वाचनबाट विजयी भएर गएपछि समेत आफ्नो ठाउँ विर्सने नेताहरुको रोग भएकोमा पराजयका बाबजुद पनि जनताको सेवाका लागि अहोरात्र खटिई जनताको हित सोचेर काम गरेकोमा नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति दिनेश राईले राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार थापालाई धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, पूर्व महासमिति सदस्य अजित नारायण सिंह थापा, यूवा नेता मदन घिमिरे, विद्यार्थी नेता बिर्मशमान अमात्य लगायतले धनकुटामा डायलासिस मेसिन ल्याउन महत्वपूर्ण पहल गरेकोमा पूर्व मन्त्री थापालाई धन्यवाद दिएका छन् ।
पूर्व मन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले अव धनकुटा अस्पतालमा चाँडै नै डायलासिस सेवा संचालन गर्नका लागी आवश्यक थप जनशक्तिका लागी पनि पहल भइ रहेको जानकारी दिएका छन् ।
धनकुटा जिल्ला अस्पतालमा प्राप्त डायलासिस मेसिनबाट डायलासिस सेवा संचालन गर्नका लागी दक्ष स्वास्थ्यकर्मी आईसकेकोले सेवा संचालन गर्न आवश्यक तयारी भइ रहेकोले अव चाँडै नै डायलिसस सेवा शुरु गर्ने तयारी भैरहेको धनकुटा अस्पतालका प्रमुख डा.अभिताप ठाकुरले वताएका छन् ।
सेवा सुचारु भएपछि धनकुटा जिल्लाका अलवा पूर्व पहाडी जिल्लाहरु तेह्थुम, संखुवासभा, भोजपुर, ताप्लेजुङ्ग, पाँचथर लगायत अन्य जिल्लाका डायलासिस गर्नु पर्ने विरामीहरुमा सहज पहुँच हुनेमा पूर्व मन्त्री थापाले वताएका छन् ।