काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिल क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए । फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् ।
जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिए । दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो ।
यस अघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन । खेलको ३३ मिनेटमा भारतले सुन्दर मौका गुमायो । मिडफिल्डर सुरेशको क्रसलाई सिक्सयार्ड बक्सबाट कप्तान सुनिल क्षेत्रीले बाहिर प्रहार गरे । नेपाली कप्तान तथा गोलरक्षक किरणले छोडेको बललाई सिक्स यार्डबक्सबाट सुनिलले बाहिर प्रहार गरेका थिए ।
खेलको ५५ मिनेटमा भारतका मिडफिल्डर ब्रेन्डम फर्नान्डेजले पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । दिनेश राजबंशीले २५ यार्डमा सुनिल क्षेत्रीलाई फल गरेपछि पाएको प्रिकिकलाई बे्रन्डमले बाहिर प्रहार गरे । खेलको ५६ मिनेटमा भारतले अर्काे प्रयासमा नेपाली गोलरक्षक किरण कुमार लिम्बू बाधक बने । मानबिर सिंहले पेनाल्टी एसियाबाट हानेको हेडिङ गोलरक्षक किरणले उत्कष्ट पन्च गरि बाहिर फ्यालेका थिए ।