काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले विश्वकपमा दोस्रो जित निकालेको हो ।
न्यूजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि मोहम्मद रिजवानले ३३ शोएब मलिकले र आसिफ अलीले नटआउट २७–२७ तथा फखर जमान, मोहम्मद हफीज र इमाद वासिमले ११–११ रन बनाउँदा कप्तान बाबर आजम ९ रनमा आउट भए ।
बलिङमा इश सोधीले २, मिचेल सेन्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
यसअघि, शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएरन १ सय ३४ रन बनाएको थियो ।
उसका लागि डेरिल मिचेल र डेभन कन्वेले २७–२७ तथा कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि हरिस रउफले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । यस्तै, मोहम्मद हफीज, इमाद वासिम र शाहीनशाह अफ्रिदीले १–१ विकेट लिए ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । न्यूजिल्याण्ड भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ । दोस्रोमा अफगानिस्तान, न्यूजिल्याण्ड तेस्रो, भारत चौथो र स्कटल्याण्ड पाँचौ स्थानमा रहेको छ ।