काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले महिला साफ च्याम्पियनसिपमा आज घरेलु मैदान दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।
साँझ ५:३० बजे सुरु हुने खेलमा नेपाल भुटानविरुद्ध नेपाल आफ्नो पुरानो रवाफ कायम राख्ने ध्याउन्नमा हुने छ ।
भुटान भने नेपालविरुद्ध गोल गर्ने लक्ष्यमा हुने छ। नेपालले अहिलेसम्म भुटानको पोस्टमा १९ गोल गर्दा भुटान भने गोलविहीन रहेको छ ।
अहिलेसम्म भुटान र नेपालबीच साफ च्याम्पियनसिपका पछिल्ला तीन संस्करणमा लगातार भेट भएको छ ।
अघिल्ला दुई संस्करणमा फरक समूहमा रहेका यी दुई टिमले पछिल्ला तीन संस्करणमा भने एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन्। जहाँ नेपाल एकतर्फी हावी भएको छ ।
नेपालले पहिलो पटक २०१४ को डिसेम्बरमा पाकिस्तानमा भएको खेलमा भुटान विरुद्ध प्रतिस्पर्धा गरेको थियो । कुमार कटुवालको प्रशिक्षण र अनु लामाको कप्तानीमा रहेको नेपालले भुटानसँग समूहको पहिलो खेल खेल्दा ८-० को फराकिलो जित निकाल्न सफल भएको थियो ।
दोस्रो पटक नेपालले भुटानविरुद्ध २०१६ मा भारतमा भएको चौथो साफमा प्रतिस्पर्धा गरेको थियो । जतिबेला नेपाली टिमका प्रशिक्षक कुमार थापा रहेका थिए भने कप्तानको जिम्मेवारी रेनुका नगरकोटीको काँधमा रहेको थियो ।
उक्त खेलमा पनि नेपालले भुटानविरुद्ध पहिलो खेल खेल्दै ८-० कै फराकिलो नतिजा दोहोर्यायाे। तत्कालीन प्रशिक्षक कुमार थापा नै अहिले पनि नेपाली टिमको प्रशिक्षक रहेका छन् । त्यसैले भुटानविरुद्ध आफ्नो पुरानो विरासत जोगाउने चुनौती थापालाई रहने छ ।
तेस्रो पटक नेपालले २०१९ को अप्रिलमा विराटनगरमा भएको साफमा प्रतिस्पर्धा गरेको थियो। घरेलु भूमिमा र राजधानी बाहिर पहिलो पटक ठूलो इभेन्ट्मा भुटान विरुद्धकाे उद्घाटन खेल खेलेको नेपालले ३ गोलमात्र गर्न सकेको थियो । अर्थात् अघिल्ला दुई संस्करणमा भन्दा भुटानले आफूलाई परिष्कृत बनाएको सन्देश दियो। त्यसैले तीन वर्षपछि नेपाल भुटानविरुद्ध मैदान उत्रिँदा रवाफभन्दा बढी सशंकित पनि छ ।
नेपालले गरेका १९ गोलमा सर्वाधिक धेरै योगदान वर्तमान स्टार स्ट्राइकर सावित्रा भण्डारीको रहेको छ । उनले ८ गोल गर्दा सजना राना, अनु लामा, दीपा अधिकारीले समान २-२ गोल गरेका छन्। त्यस्तै, मेनुका गिरी, शर्मिला थापा, कृष्णा खत्री, मञ्जलीकुमारी योञ्जन र निरु थापाले समान एक-एक गोल गरेका छन् ।
भुटानविरुद्ध कहिले कसकसले गरे गोल
२०१४: सजना राना, अनु लामा दिपा अधिकारी समान २-२ गोल, मेनुका गिरी र सावित्रा भण्डारीको समान १ गोल
२०१६: सावित्रा भण्डारी ६ गोल (डबल ह्याट्रिक), शर्मिला थापा र कृष्णा खत्रीको समान १-१ गोल
२०१९: मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र निरु थापाले समान १-१ गोल।