काठमाडौं । अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष पूरा गरेको छ।
सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।
सुरुमा पृथ्वीको सतहदेखि ४ सय २० किलोमिटरमाथि घुमिरहेको नेपालको झन्डा अंकित स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ झर्दै गइरहेको छ । बिहीबार नेपाली स्याटेलाइट पृथ्वीदेखि ३ सय ३० किलोमिटर माथि घुमिरहेको थियो।
अन्तरिक्षमा नेपाली स्याटेलाइटले ७ सय ३० दिन बिताइसकेको छ । त्यसले पृथ्वीलाई ११ हजार ४ सय पटक फन्को लगाएको श्रेष्ठले बताए । स्याटेलाइट अबको अढाई महिनाभित्रमा ध्वस्त हुँदै छ।
स्याटेलाइटको आयु सकिँदै जाँदा क्षमता पनि घट्ने गर्छ । पृथ्वीको गुरुत्व बलको प्रभावले स्याटेलाइट विस्तारै पृथ्वीतिर झर्न थालेको छ।