इटहरी । नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएपछि पार्टीले कार्यबाहक सभापतिको जिम्मा विशुधन राईलाई दिएको छ ।
सोमबार इटहरी २ स्थित मुक्तिनारायण मन्दिरमा बसेको बैठकले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी राईलाई दिएको हो ।
घिमिरेले सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा गठबन्धन विपरीत बागी उम्मेदवारी दिएसँगै उपसभापति रहेका राईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ ।
राईलाई मंसिर १५ गतेसम्म कार्यबाहकको जिम्मेवारी तोकेको हो ।
त्यसैगरी, निर्वाचन परिचालन तथा व्यवस्थापन समितिको संयोजकमा फूलराज सुवेदीलाई चयन गरिएको छ । सुवेदी सहित पाँच सदस्यीय समिति गठन गरिएको हो ।
सुवेदी कांग्रेस इटहरीका पूर्व नगरसभापति हुन् । यसैगरी सदस्यहरुमा इस्वरि वस्ती, पवन अधिकारी, डाेमा तामङ, अम्बिका थापा रहेका छन । यो समितिले गठबन्धनसँग एजेन्डासहित बैठक बस्नेछ ।
यस्तै, भोला पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरिएको छ । यो समितिको सदस्यहरुमा रबिन्द्र तिवारी, टंक दहाल, ईश्वर राइ, पदम बुढाथोकी रहेका छ्न । उक्त समितिले बागी उम्मेदवारको पक्षमा रहेका कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने बताईएको छ ।
पार्टी विधान विपरीत रहेका कार्यकर्तालाई यो समितिले नगरसमक्ष कारबाहीको सिफारिस गर्ने छ ।
महाधिवेशन प्रतिनिधि, जिल्लाका प्रतिनिधिहरूसहित बसेको बैठकमा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले अहिले गठबन्धनको विकल्प नरहेको बताए । पार्टीको निर्देशन अनुसार निर्वाचनमा होमिन समेत उनको निर्देशन थियो ।