इलाम । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।
महामन्त्री शर्माले आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति जुनसुकै परिस्थितिमा राष्ट्रपति बन्ने बताए ।
महामन्त्री शर्माले काँग्रेस सहितको सहभागितामा प्रस्ताव गरिएको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व कायम गरिने बताए । राष्ट्रपतिको भन्ने विषयमा भने काँग्रेससहितको सहभागितामा टुङ्गो लगाइने उनको दावी छ । शर्माले राष्ट्रपतिका लागि पार्टी भित्र लामो त्याग भएका एक सय एक योग्य नेतृत्व भएको दाबी पनि गरे । उनले संविधानको संरक्षक बन्ने व्यक्ति नै राष्ट्रपति हुनेमा ढुक्क हुन आग्रह गरे ।
महामन्त्री शर्माले काँग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसँग समेत छलफल अघि बढाएको जानकारी दिए शर्माले भने, ‘२५-२६ हजार मतभार चाहिन्छ हामीसँग केबल १६ हजार मतभार छ , त्यसले अन्य दलसँग छलफल जरुरी छ ।’
शर्माले गएको सङ्घ र प्रदेशको निर्वाचन पछि गठबन्धन तोडिँदा काँग्रेसले गुमाएको पद र प्रतिष्ठाको बारेमा केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरेर जिम्मेवार दलको भूमिका निर्वाह गर्दै अगाडि बढ्ने बताए ।
शर्माले आत्मदाह गर्नुभएका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग लामो छलफल गरेका थिए । उनले आचार्यका हजुरबुवासहित आमा निर्मला, श्रीमती नानुका र छोरीहरूसँग कुरा गर्दै प्रेमले उठाएका मुद्दा ओझेल पर्न नदिने बताए ।